STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्वास्थ्य शिविरबाट ८०० लाभान्वित

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १५, आइतबार

तनहँुको व्यास नगरपालिका–११ शेरामा शनिबार आयोजित स्वास्थ्य शिविरबाट ८०० सर्वसाधारण लाभान्वित भएका छन् । समुदायबाट सञ्चालित तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आयोजना र काठमाडौँस्थित ओम अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट मुटु, मधुमेह, हाडजोर्नी, नाक, कान, घाँटी, बालबालिका र महिलासम्बन्धी रोगको उपचार सेवाबाट ८०० सर्वसाधारण लाभान्वित भएका हुन् । सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यसहित समुदायस्तरमै पुगेर स्वास्थ्य शिविर आयोजना गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिनुभयो । “तनहुँका ग्रामीण भेगमा पुगेर स्वास्थ्य शिविर आयोजना गर्न ओम अस्पतालसँग सम्झौता गरेका थियौँ”, क्याम्पस प्रमुख हड्खलेले भन्नुभयो, “सोहीबमोजिम पहिलो शिविर व्यास–११ बाट शुरु गरेका छौँ ।” शिविरमा २४ जनाको विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको समूहले सेवा प्रदान गरेको ओम अस्पतालका निर्देशक दीपेन्द्र पोख्रेलले जानकारी दिनुभयो । “तनहुँको बस्तीमा आएर स्वास्थ्य सेवा प्रवाह गर्न पाउँदा हामीहरुलाई अत्यन्तै खुशी लागेको छ”, निर्देशक पोख्रेलले भन्नुभयो, “सहमतिबमोजिम अन्य ठाउँमा क्रमशः शिविर गर्दै जानेछौँ ।” क्याम्पस प्रमुख हड्खलेका अनुसार शिविरमा करीब रु तीन लाख बराबरको औषधि निःशुल्क वितरण गरिएको छ । शिविर सञ्चालनका लागि व्यास नगरपालिकाले रु एक लाख ५० हजार आर्थिक सहयोग गरेको थियो । शिविरमा स्वास्थ्य परीक्षण दर्ता शुल्कबाट उठेको रु १३ हजार ४०० सोही ठाउँको वसन्त आधारभूत विद्यालयलाई हस्तान्तरण गरिएको थियो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले समुदायस्तरमै पुगेर स्वास्थ्य शिविर आयोजना गर्नुु सकारात्मक रहेको बताउनुभयो ।
Categorized in राष्ट्रिय