STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हरेक मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था हुने

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर १, बिहिबार

 

काठमाडौं - निर्वाचन आयोगले निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था मिलाएको बताएको छ । निर्वाचन आयोगले बिहीवार पत्रकार सम्मेलन गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहीत, पारदर्शी र विश्वसनीय बनाउन आवश्यक सम्पूर्ण सुरक्षा प्रवन्ध मिलाइसकेको बताएको हो ।

निर्वाचनको सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । उनले ३० मिनेटभित्र मतदान केन्द्रमा पुग्न सक्नेगरी सुरक्षाकर्मीको रिजर्भ फोर्सकोसमेत व्यवस्था गरिएको बताए । त्यस्तै निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्ने लगायतका गतिविधि रोक्न आवश्यक सुरक्षा रणनीति अपनाइएको उनले उल्लेख गरे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले जोखिमका आधारमा सुरक्षा गस्ती परिचालन गरिने र संवेदनशीलतालाई ध्यान दिँदै अधिकार सम्पन्न घुम्ती टोली परिचालन गरिने उनले जानकारी दिए । उनले भने, ‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहीत, पारदर्शी एवं विश्वसनीय बनाउन आयोगले आवश्यक सुरक्षा प्रवन्ध मिलाइसकेको छ । निर्वाचन बिथोल्ने वा बहिष्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाक, धम्की दिने लगायतका कार्यहरु गरी निर्वाचनको स्वच्छतामा असर पुर्याउने कुनैपनि गतिविधिहरु रोक्न आवश्यक सुरक्षा रणनीतिसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।’

उनले थपे, ‘निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३० मिनेटभित्र पुग्न सक्नेगरी पर्याप्त सुरक्षाकर्मीको रिजर्भ फोर्सको व्यवस्था गरिएको छ । निर्वाचन सुरक्षा जोखिमका आधारमा आवश्यकता अनुसार सुरक्षा गस्ती परिचालन तथा क्षेत्रगत संवेदनशीलतालाई मध्यनजर गरी पर्याप्त मात्रामा अधिकार सम्पन्न घुम्ती टोली परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।’

उनले मतदान केन्द्रमा असर पुर्याउने खालका कुनैपनि प्रकारका गतिविधि भएमा निर्वाचनको काममा खटिएका कर्मचारी, सुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षक लगायत जसले पनि सूचना दिन र अनुचित क्रियाकलाप गरोकी कानूनी कारबाही गर्न निर्देशन दिएको बताए ।

उनले भने, ‘कसैले कसैलाई धाक, धम्की, डर वा त्रास देखाई वा अन्य कुनै किसिमले अनुचित प्रभावमा पारी कुनै निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा निर्वाचनको कुनै काम वा मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पु¥याउने काम गरेमा निर्वाचनको काममा खटिएका कर्मचारी, सुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षक वा जो कोहीले आफ्नो कर्तव्य सम्झी सूचना दिन, त्यस्तो कार्य रोक्न वा कानून बमोजिम कारबाही गर्न विशेष निर्देशन दिइएको छ ।’

आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेको जनाएको छ । १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए । यस्तै १४१ अस्थायी मतदान केन्द्र रहेको र ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने उनले बताए ।

थपलियाकाअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ हजार ४१२ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् भने प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीमा २ हजार १९९ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको छ । त्यस्तै प्रदेश सभाको प्रत्यक्षतर्फ ३ हजार २२४ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीमा ३ हजार ७०८ जना उम्मेदवारको नाम अन्तिम बन्द सूचिमा कायम गरिएको छ ।

थपलियाले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्वाचनका लागि ४ करोड ६ लाख ५ हजार मतपत्र छपाई गरी ढुवानी गरिएको बताए । त्यस्तै प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीका लागि ३ करोड ९८ लाख १६ हजार ५०० मतपत्र छपाई गरी ढुवानी गरिएको उल्लेख गरे । उनले निर्वाचन पर्यवेक्षणका लागि ४४ वटा राष्ट्रिय संस्था र २ वटा अन्तर्राष्ट्रिय संस्थाले आयोगबाट अनुमति पाएको र पर्यवेक्षकले प्रतिनिधि सभा र प्रदेश सभाका सबै निर्वाचन क्षेत्रमा पर्यवेक्षण गर्ने बताए । आयोगले करिव ७ हजार ५०० जनालाई पर्यवेक्षण परिचयपत्र उपलब्ध गराएको जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिव २ लाख ४६ हजार ९६० कर्मचारी तथा सुरक्षाकर्मी मतदानस्थल पुगिसकेका बताए । मतदान शुरु हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण निषेध गर्ने व्यवस्था मिलाउन जिल्ला आचारसंहीता अनुगमन समिति र स्थानीय प्रशासनलाई सक्रिय बनाइएको उनले बताए ।

Categorized in राष्ट्रिय