STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हेलिकोप्टरद्वारा घाइतेलाई राजधानीः बेपत्ता २० को पहिचान

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २५, बिहिबार

चौतारा - सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ५–जम्बु र भोटेकोशी गाउँपालिका –५ बुलकोटेमा गए रातिको बाढीपहिराले घाइते पाँचसहित सातदिने शिशुलाई हेलिकोप्टरद्वारा उपचारका लागि आज अपराह्न राजधानी पठाइएको छ । घाइते हुने जम्बुका ७० वर्षीया बुद्धिमाया तामाङ, २२ वर्षीया सविना बस्नेत र १९ वर्षीय सुरेश बस्नेत तथा बुलकोटेका फुर्वा तामाङ, पेमुलम तामाङ र उनकी छोरी सातदिने शिशुको उपचारका लागि ह्याम्स अस्पताल काठमाडौँ पठाइएको छ । घाइतेलाई एयर डाइनेष्टी र माउण्टेन एयरको हेलिकोप्टरद्वारा राजधानी पठाइएका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । यसैबीच बेपत्ता २० जनाको पहिचान खुलेको छ । तिनमा जम्बुका भीमबहादुर वाइवा, चीनमाया वाइवा, लीलामाया वाइवा, पासाङडोल्मा वाइवा, निमाडोल्मा वाइवा, लक्ष्मण वाइवा, सुनमाया वाइवा, जनकबहादुर थिङ, सवीना तामाङ, आकाश तामाङ, लोकबहादुर तामाङ, सलिनी तामाङ, सवेश तामाङ, युक्तबहादुर तामाङ, भोटेकोशी हाइड्रोपावरका सेक्रेटरी हिमेश शर्मा र जाइकाका इञ्जिनीयर आकाश केसी छन् । त्यसैगरी बुलकोटेका नीमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङनुर्बु तामाङ र सहिल तामाङ पनि बेपत्ता भएका छन् । बाढीले बस, ट्याङ्कर, ट्रक र कारसमेत बगाएको छ । दुवै ठाउँमा गरी ३६ घरटहरा बगेका छन् । भोटेकोशीले बाह्रबीसेस्थित इलाका प्रहरी कार्यालय नजीक अरनिको राजमार्ग र जुरेमा करीब ३०० मिटर सडक बगाएकाले आवागमनमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । बाढीले मध्यभोटेकोशी हाइड्रोमा क्षति यसैगरी बुधबार राति सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले मध्यभोटेकोशी जलविद्युत् आयोजना क्षेत्र डुबानमा परेको छ । निर्माणाधीन १०२ मेगावाटको सो हाइड्रोपावरमा अर्बौंको क्षति पुगेको छ । एक जना चिनियाँ प्राविधिक बेपत्ता भएको आयोजना प्रमुख सुनिलकुमार लामाले जानकारी दिनुभयो । आयोजनाका लागि आवश्यक उपकरण राख्ने गरिएको भण्डार केन्द्रसमेत बाढीले क्षतिग्रस्त पारेको छ । उहाँले भन्नुभयो, “आयोजनाका लागि तीन वटा टर्बाइन रनर, जीआइएस र जिटी ९जेनेरेटर ट्रान्सफर्मर० बाहेक सबै उपकरण ल्याएर त्यहाँ राखिएको थियो । ती सबै बाढीले बगाएको अनुमान छ । ” बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले आयोजनामा व्यापक क्षति भएको बताउनुभयो । “ड्याममा क्षति भएको छ । पावर हाउसमा पहिरो गएको छ । आयोजनाका सामान राखेको गोदाम केही बगाएको छ भने केही पुरिएको छ”, उहाँले भन्नुभयो । मध्यभोटेकोशी आयोजनामा पुरिएका सामान क्रेनले निकाल्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । सभामुमख प्रभावित क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटा बाह्रबीसेको बाढी प्रभावित क्षेत्रमा पुग्नुभएको छ । यसैगरी वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल र आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेल पनि घटनास्थल पुग्नुभएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय