होली पर्व मनाइयो
Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र १५, आइतबार
काठमाडौँ - आइतबार फागुन शुक्ल पूर्णिमा अर्थात रङहरुको पर्व होली मनाइयो ।
आइतबार हिमाली र पहाडी जिल्लाहरुमा होली मनाइएको हो ।
तराईका जिल्लाहरुमा भने सोमबार मात्रै होली मनाइन्छ । हिमाल, पहाड र तराईमा गरी फरक फरक दिन मनाउने गरिए पनि पर्वको शुरुआत भने होलीको चीर ठड्याइएको दिनदेखि हुन्छ । काठमाडौंको बसन्तपुरमा चैत्र ८ गते चीर ठड्याइएको थियो ।
त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रल्हादलाई मार्नको लागि ब्रम्हाबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई झिकाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैं जलेर भष्म भएको र प्रल्हादको भक्तिका कारण आगोले छुन नसकेको कथा होलीपर्वसँग जोडिएको र पापी प्रवृति भएकी होलीकाको मृत्यु भएको खुशियालीमा परापूर्वकाल देखि होली मनाइँदै आएको कथन छ ।
सरकारले कोरोनाको दोस्रो लहर सुरु हुनसक्ने भन्दै भीडभाड नगर्न आग्रह गरे पनि मानिसहरु बसन्तपुर क्षेत्र पुगेर रङ खेलेका थिए ।
धालसिक्व मानन्धर सनाःगू खलःका सचिव गजेन्द्रप्रसाद मानन्धरले आइतबार बेलुका नै ठड्याइएको चीरलाई ढालिएको बताए। चीर बेलुकाको ७ बजेर ३७ मिनेटको साइतमा ढालिएको थियो ।
त्यसपछि गर्जोपल्टन सहितको टोलीले बसन्तपुर–इन्द्रचोक–न्युरोड हुँदै टुँडीखेल सम्म पुर्याएर ८ बजेर ५३ मिनेटमा चीरको विधिपूर्वक दाह गरिएको पनि सचिव मानन्धरले जनाएका छन् ।
Categorized in उपत्यका

