STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

३०० वर्ष पुरानो ऐतिहासिक ‘निगु पुखुः’ पुनर्निर्माण शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ५, सोमबार

मध्यपुरथिमि नगरपालिका–४ मा रहेको प्रसिद्ध एवं ऐतिहासिक ३०० वर्ष पुरानो निगु पुखुः अर्थात् दुईपोखरीमध्ये ठूलो पोखरीको पुनर्निर्माण शुरु भएको छ । दुई पोखरीमध्येको सानो पोखरीको पुनर्निर्माण सम्पन्न गरेको नगरपालिकाले आजदेखि ठूलो पोखरीको संरक्षण तथा पुनर्निर्माण शुरु गरेको हो । पोखरीको पुनर्निर्माणको आज वाग्मती प्रदेशका प्रदेश सदस्य डा राजेन्द्रमान श्रेष्ठ र नगर प्रमुख मदनसुन्दर श्रेष्ठले शिलान्यास गर्नुभयो । नगरपालिकाको ऐतिहासिक पहिचानका रुपमा रहेको सो पोखरीको संरक्षण अभावमा पानी सुकेर वर्षौंदेखि चौरमा परिणत भएपछि गत वर्षदेखि नगरपालिकाले संरक्षण एवं पुनर्निर्माण अभियान शुरु गरेको थियो । निगु पुखुः संरक्षणका लागि नगरपालिकाले उत्तरतर्फको ठूलो पोखरीको संरक्षण एवं पुनर्निर्माणका लागि चालू आव २०७६÷७७ मा रु एक करोड २५ लाख बजेट विनियोजन गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । दक्षिणतर्फको पोखरीभन्दा दुई गुणा ठूलो रहेको उत्तरतर्फको पोखरी संरक्षण एवं जीर्णोद्धारका लागि वाग्मती प्रदेश सरकारले थप रु ५० लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । उक्त पोखरी सात फिट गहिरो बनाइनेछ । आगामी वैशाख १ गते अगाडि बिस्केट जात्राका अवसरमा पानी भर्ने गरी पोखरीको पुनर्निर्माण शुरु भएको हो । नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “गत वैशाखका लागि दक्षिणतर्फको सानो पोखरीमा पानी भरेका थियौँ, आगामी बिस्केट जात्राका लागि यो ठूलो पोखरीमा पानी भर्ने गरी पुनर्निर्माण शुरु गरेका छाँै, सानो पोखरीको पुनर्निर्माण सम्पन्न भइसक्यो, अब चालू आवभित्र ठूलो पोखरीको पनि पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौँ ।” नगरपालिकालाई जीवित सङ्ग्रहालयका रुपमा विकास गर्ने लक्ष्यका साथ पुरातात्विक एवं ऐतिहासिक संचरनाको खोजी खोजी संरक्षण एवं जीर्णोद्धारका काम शुरु गरेको बताउँदै उहाँले तीनवटा ऐतिहासिक पोखरीको पुनर्निर्माण सम्पन्न भएको र अरूको पनि पुनर्निर्माण शुरु गरिएको बताउनुभयो । दुईपोखरीको दक्षिणतर्फको पोखरी पाँच फिट गहिरो छ । पानी नसुकोस् भनेर पोखरी निर्माणका क्रममा पिँधमा कालोमाटो छ इन्च, त्यसमाथि तीन इन्च पाँगो माटो र त्यसमाथि फेरि छ इन्च कालोमाटो राखेर त्यसमाथि इँटा ओछ्याएर परम्परागत शैलीमा डाँची अप्पा इँटाको प्रयोग गरी पोखरी पुनर्निर्माण गरिएको छ । अब पुनर्निर्माण हुने पोखरीमा पनि यही विधि अपनाइनेछ । चारैतिर कलात्मक ढोका राखेर पोखरीको संरक्षण गरिने भएको छ । आकाशेपानीलाई प्रशोधन गरी दुई पोखरीमा दीर्घकालिन रुपमा पानी भर्ने योजना छ । पुनर्निर्माण सम्पन्न भएको दक्षिणतर्फको पोखरीमा पानी भरिएको छभने दुईवटै पोखरीमा मध्यपुर थिमि इनाय टोलको राजगणेशदेखि दिगु भैरवसम्मको पानी जम्मा गरी प्रशोधन गरेर दीर्घकालीन रुपमा पोखरीमा खसाल्ने गरी योजना रहेको छ । तीन वर्षमा पोखरीको सम्पूर्ण संरक्षणका काम सम्पन्न गर्ने गरी नगरपालिकाले गत वर्षदेखि शुरु गरेको पोखरी पुनर्निर्माणको काम कूल रु १५ करोडको लागतसहितको गुरुयोजना निर्माण गरेको थियो । जसमा दुईवटै पोखरीको वरिपरि पैदलमार्ग निर्माण, आठवटा परम्परागत शैलीको फल्चा अर्थात् पाटी, दुईवटा पोखरीका बीचको बाटो पुनर्निर्माण गर्नाका साथै नगरको मुख्य सांस्कृतिक केन्द्रका रूपमा यो क्षेत्रलाई व्यवस्थित गर्ने लक्ष्य रहेको नगरप्रमुख श्रेष्ठको भनाइ छ । करीब ३०० वर्षपहिले गङ्गा महारानीले दुईपोखरी स्थापना गरी मध्यपुर थिमिवासीलाई पानीको स्रोत दिएको कथन रहेको उहाँको भनाइ छ । थिमिमा कुनै भवितव्य भएमा, सिँचाइ र अन्य प्रयोजनका लागि पोखरीकै पानी प्रयोग गर्ने प्रचलन थियो । विसं २०१५ मा राजा महेन्द्र भक्तपुर आउँदा दुईपोखरीको पानी हटाएर मैदान बनाई राजालाई स्वागत गरेपछि पोखरीको संरक्षण नहुँदा पानी सुकेको वडा नं ४ का अध्यक्ष कुमार श्रेष्ठ बताउनुहुन्छ ।
Categorized in राष्ट्रिय