STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

३९ जातजातिका संस्कृति वृत्तचित्रमा

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २३, सोमबार

तनहुँको व्यास नगरपालिकामा बसोबास गर्ने ३९ जातजातिका संस्कृति समेटेर वृत्तचित्र तयार गरिएको छ । शिक्षा, पर्यटन र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको साभ नेपाल संस्थाले व्यास नगरपालिकाको सहयोगमा सो वृत्तचित्र तयार गरेको हो । 
नेपाली समाजले मौखिक रुपमा जोगाउँदै आएका लोक परम्परा र लोक व्यवहारको खोजी गर्दै लिपीबद्ध गर्ने उद्देश्यले नगरपालिकाभित्र बसोबास गर्ने जातजातिको संस्कृतिलाई वृत्तचित्रमा उतारिएको साभ नेपालका अध्यक्ष एवं अनुसन्धानकर्ता तुलसी प्रवासले बताउनुभयो ।“हाम्रो पहिचान भनेको हाम्रो संस्कृति हो, संस्कृति र परम्परालाई लिपीबद्ध गरिएन भने आगामी दिनमा संस्कृति हराएर जान्छन्”, उहाँले भन्नुभयो ।
प्रवासका अनुसार १ घण्टा ३५ मिनेट समयको वृत्तचित्रमा विभिन्न जातजातिका मौलिक संस्कृति, जीनवपद्धति र व्यवहारलाई अनुसन्धान गरी वृत्तचित्रमा समावेश गरिएको छ । छ महीनाको अवधिमा तयार गरिएको वृत्तचित्रले व्यास नगरपालिकामा बसोबास गर्ने सबै जातजातिको सांस्कृतिक र सामाजिक जीवनपद्धतिको बारेमा बुझ्न सहज हुने विश्वास गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार निर्माण गरिएको वृत्तचित्र पूर्ण नभएपनि यसले गोरेटो कोर्ने प्रयास गरेको छ ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले नगरभित्रका जातजातिको संस्कृति र जीवनपद्धतिलाई एकीकृत गरी निर्माण गरिएको वृत्तचित्रले लोक संस्कृतिको अध्ययन र जगेर्ना गर्न सहयोग पुग्ने बताउनुभयो । वृत्तचित्रमा नगरपालिकाभित्र बसोबास गर्ने ब्राम्हण, क्षेत्री, मगर, गुरुङ, कुमाल, दरै, दुरा, बोटे, भुजेल, कुसुण्डा, नेवार, दमै, मुस्लिम, तामाङ लगायतका जातिको संस्कृति र परम्परालाई समावेश गरिएको छ । 
विसं २०६८ को जनगणनानुसार नगरपालिकाको जनसङ्ख्या ७० हजार ३३५ रहेको छ । जसमध्ये सबैभन्दा बढी मगर जातिका समुदाय नगरपालिकामा बसोबास गर्दछन् । करीब १३ हजार ७१५ जनसङ्ख्या मगर रहेको नगरपालिकामा यो कूल जनसङ्ख्याको १९।४९ प्रतिशत हो । 
मगरपछि दोस्रो जातिको रुपमा ब्राम्हण जाति रहेको छ । नगरपालिकाभित्र ब्राम्हण जातिको जनसङ्ख्या १५।१५ प्रतिशत अर्थात् १० हजार ६५६ रहेको छ । त्यस्तै क्षेत्रीको जनसङ्ख्या १३ प्रतिशत अर्थात् नौ हजार ६२२, गुरुङ जातिको जनसङ्ख्या ८।७९ प्रतिशत अर्थात् ६ हजार १८९ रहेको छ । 
त्यस्तै नेवार छ हजार १०५, कामी पाँच हजार ३६०, सार्की तीन हजार १२३, दरै तीन हजार १०९, दमै दुई हजार ५३९, मुस्लिम एक हजार ६५९, घर्ती भुजेल एक हजार ६६१, ठकुरी एक हजार २६६, कुमाल एक हजार २५२, बोटे ७३९, सन्यासी ६७५, दुरा ६५४ र अन्य दुई हजार ११ रहेको व्यास नगरपालिकाले जनाएको छ । चुड्का, घाटु र कौरा यहाँका लोक नृत्यहरु हुन् भने घाटु, भैलो, झ्याउरे र परम्परागत तीजका गीतहरु तथा नृत्य पनि यस नगरपालिकाका सर्वाधिक लोकप्रिय संस्कृति हुन् । 
Categorized in राष्ट्रिय