STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

फरार सांसद कोइरीलाई पक्राउ गरी कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

Janjati Khabar – Janjati Khabar | २०७९ माघ ६, शुक्रबार

 

काठमाडौं - घाइते अवस्थामा अस्पतालतर्फ जाँदै गरेका सशस्त्र प्रहरीका असई थमन विकलाई एम्बुलेन्सबाटै थुतेर हत्या गरेको आरोपमा फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै सांसद कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई गृहमन्त्रालयले निर्देशन दिएको हो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबाट पटकपटक सांसद कोइरीलाई पक्राउ गर्न मौखिक आदेश हुँदा पनि पक्राउ नपरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको पनि जनाइएको छ ।

२०७२ सालमा मधेसी मोर्चाले आह्वान गरेको आन्दोलन तराई–मधेसमा चलिरहेको थियो । भदौ २५ मा मोर्चाका कार्यकर्ताहरुले सशस्त्र प्रहरी बलका असई थमन बिकलाई आक्रमण गरेर गम्भीर घाइते बनाइ सकेका थिए । जिल्ला अस्पताल महोत्तरीबाट थप उपचारका लागि जनकपुरस्थित अञ्चल अस्पताल लैजाने क्रममा मोर्चा कार्यकर्ताहरुले बाटोमै एम्बुलेन्सलाई रोके ।

महोत्तरीको अनैठा गाउँमा आन्दोलनकारीले एम्बुलेन्समा घाइते अवस्थामा रहेका विकलाई थुतेर खेतमा पुर्याए । र कुटेरै मारेका थिए। एम्बुलेन्सका चालक र थमनको सहयोगीका रुपमा पठाइएका सशस्त्र प्रहरीका जवान ज्यान जोगाउँदै भागे । भाग्न नसक्ने अवस्थाका घाइतेलाई धेरै जनाले खेतमा लगेर भाटैभाटाले हिर्काएर हत्या गरेका थिए।

Categorized in राजनीति