अध्यक्षको तलबबाट विपन्नलाई सहयोग
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १५, आइतबार
दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले आफूले पाएको पारिश्रमिकमध्येको रु एक लाख ८० हजार रकम गाउँपालिकाभित्र रहेका विपन्न, दलित, द्वन्द्वपीडित र जेहेन्दार व्यक्तिलाई हस्तान्तरण गर्नुभएको छ ।
गाउँपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले निर्वाचन भएको दुई वर्षको अवधिसम्म प्राप्त गरेको पारिश्रमिकमध्येकै रकमबाट विभिन्न समस्या भएका सातजना व्यक्तिलाई रु एक लाख ८० हजार हस्तान्तरण गर्नुभएको छ ।
निर्वाचनको बेला आफूले पाउने पारिश्रमिक नलिने घोषणा गरेसँगै पारिश्रमिक रकमको उचित व्यवस्थापन गरेर कोष निर्माणसँगै विनियोजन बनाउने योजना गरेको भए पनि कोष निर्माणमा केही समय लाग्ने भएपछि तत्कालका लागि आफूले पीडितको छनोट गरेर रकम बाँडेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “म अनियमितता गर्दिन, अरुलाई पनि गर्न दिन्न ।’’ संमृद्ध गाउँपालिका बनाउने अभियानमा सबै राजनीतिक दल, नागरिक समाज र कर्मचारीले सहयोग गर्नुपर्ने थापाको सुझाव थियो ।” आगामी दिनमा आफूले पाउने पारश्रमिक एउटा फाउण्डेसन निर्माण गरेर त्यसबाट सामाजिक कार्यमा उक्त रकम खर्च गर्ने बताउनुभयो ।
Categorized in राष्ट्रिय


