STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

निर्धारित पोशाकमा नआउने कर्मचारीको हाजिरमा रोक

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १९, आइतबार

तनहुँको भानु नगरपालिकाले कार्यालय समयमा निर्धारित पोशाकमा नआउने कर्मचारीलाई हाजिर गर्न रोक लगाएको छ । कर्मचारीको एकरुपता, अनुशासन, जिम्मेवारी र बफादारी बनाउन पोशाकमा कडाइ गरिएको नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले जानकारी दिनुभयो । 
‘‘हाजिर गर्न नपाएको दिनको तलब नै कट्टा गरिने व्यवस्था गरिएको छ,’’ उहाँले भन्नुभयो, ‘‘कर्मचारी कार्यालयमा बिहान १० बजेभित्र आउने गरी विद्युतीय हाजिरको व्यवस्था समेत गरिएको छ ।’’
 
नगरपालिका मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीका लागि अभियानको रुपमा लैजाने योजना भए पनि शुरुमा नगरपालिकाका कर्मचारीमा यो नियम लागू गरिएको वरिष्ठ अधिकृत पाण्डेले बताउनुभयो । कार्यक्षेत्रमा रहेका प्राविधिक र परियोजनामा कार्यरत कर्मचारीको हकमा भने यो नियम हालको लागि लागू नगरिएको नगरपालिकाले जनाएको छ । 
उक्त नगरपालिकाले आगामी असार १ गतेदेखि लागू हुने गरी कर्मचारीले भानुको बिर्खे टोपी लगाएर कार्यालयमा आउने व्यवस्था मिलाएको छ । नेपाली भाषा साहित्यका धरोहर  भानुभक्त आचार्यको नाउँबाटै भानु नगरपालिका राखिएकाले भानुको बिर्खे टोपीलाई प्राथामिकतामा राखिएको हो । उक्त कार्यालयमा करीब एक सयको हाराहारीमा कर्मचारी कार्यरत छन् । 
कार्यालयले नियममा कडाइ गरिएपछि कर्मचारी सचेत हुन थालेको नगर प्रमुख उदयराज गौलीले बताउनुभयो । शुरुवात आफैँबाट गर्नुपर्छ भन्ने मान्यताका साथ अहिले नगरपालिकामा यस अभियान थालिए पनि आगमी दिनमा नगरपालिका मातहतका सबै कार्यालयमा लैजाने लक्ष्य रहेको छ उहाँले बताउनुभयो । 
Categorized in राष्ट्रिय