मौलिकतामा ‘लिम्बूनी’
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २१, मंगलबार
शिरमा शिरफूल, निधारमा शिरबन्दी, नाकमा ढुङ्ग्री र मुन्द्री, कानमा चेप्टेसुन । त्यस्तै पहिरनमा गलामा ढाकाको मेख्ली, छातीको एकातिर अल्झिएको सिलामसाक्मा, हातमा पाही र पाउमा कल्ली । यो वेषभूषाले सहजै अनुमान लाउन सकिन्छ– यी खाट्टी ‘लिम्बूनी’ हुन् ।पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू जातिले प्रयोग गर्ने यो पहिरन आधुनिकताको सिको गर्ने नयाँ पुस्ताका युवतीका लागि झन्झटिलो छ । तर लिम्बू बाहुल्य जिल्ला पाँचथरमा भने मौलिक गरगहना र पहिरनमा सजिएर हिँड्ने लिम्बूनी युवती प्रशस्त भेटिन्छन् ।
जिल्लामा लिम्बू सङ्घसंस्थासँगै अन्य जातीय संस्थाले पनि विभिन्न महोत्सवलगायत कार्यक्रम आयोजना गरिरहन्छन् । ती कार्यक्रममा जिल्लाका लिम्बूनी युवती परम्परागत गरगहना र मौलिक पहिरनमा सजिएर रमाइरहेका भेटिन्छन् । किरात याक्थुङ चुम्लुङको केन्द्रीय महासचिव निरन्ती तुम्बापो मौलिक पहिरन र गरहगनाले सुन्दरता बढाउनाका साथै मुहारमा चमक पनि आउने बताउनुहुन्छ । उहाँ आफैँ पनि विभिन्न कार्यक्रममा प्रायः मौलिक पहिरन र गरगहनामा सजिएरै आउनुहुन्छ । “मौलिक पहिरनमा सजिएपछि आफ्नो पहिचान कसैलाई बताइरहनु पर्दैन”, महासचिव तुम्बापा भन्नुहुन्छ, “बजारमा लगाएर हिँड्ने कुरा त भएन तर विशेष अवसर र कार्यक्रममा भने सधैँ लाउँछु ।” चुम्लुङ पाँचथरको कोषाध्यक्ष युन्छोहाङ्मा लिम्बू मौलिक पहिरन र गरगहनामा सजिँदा आफूलाई गर्व र आत्मसम्मानको अनभूति हुने बताउनुहुन्छ ।
उधौली–उभौली, सिसेक्पा तङ्नाम, कक्फेक्वा तङ्नाम, वलिहाङ तङ्नामजस्ता मौलिक चाडपर्वमा मात्र होइन, अन्य मेला, पर्व र उत्सवमा समेत मौलिक पहिरन र गरगहनामा सजिएर हिँड्ने युवतीको सङ्ख्या जिल्लामा बढ्दो छ । पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू जातिले प्रयोग गर्ने यी पहिरन र गरगहना प्रयोगको मितिबारे यकिन नभएको स्थानीय भाषा तथा संस्कृतिविद् दिलेन्द्र कुरुम्बाङ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसको उत्पत्तिको सन्दर्भ भने लिम्बू जातिले मूल देउताको रुपमा पुज्ने युमासँग जोडिन्छ ।
मुन्धुम ९लिम्बू धार्मिक ग्रन्थ० अनुसार प्राचीनकालमा युमा विभिन्न किसिमका वेषभूषा र गरगहनामा सजिएर विभिन्न स्थानमा प्रकट हुने गर्थिन्, तान बुन्थिन्, पछि अरुले पनि त्यै सिको गर्दै आधुनिकीकरण पनि गर्दै ल्याए”, लिम्बू संस्कृतिका ज्ञाता तथा भाषा आयोगका विज्ञ हरिचन्द्र लाओती यी वस्तु नेपालको विविधतामा सुन्दर देखिने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “राज्यले यस्ता वस्तु संरक्षण गर्ने र त्यसबाट फाइदा लिनेबारे खासै चासो दिएको पाइँदैन, वास्तवमा यस्ता वस्तुबाट राज्यले ठूलो लाभ लिन सक्छ ।” अहिले स–साना कुरामा पनि ‘जातीयता’ को सङ्कीर्ण मनोविज्ञान डरलाग्दो गरी हुर्किरहेको लाओतीको अनुभव छ । यसको प्रभावले अहिले जिल्लामा राई, तामाङ, गुरुङलगायत युवती पनि मौलिक पहिरनतर्फ आकर्षित हुन थालेका छन् । पाँचथरमा करीब ४१ प्रतिशत लिम्बू जातिको बसोबास छ ।
Categorized in राष्ट्रिय